काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबारको बैठकल प्रहरी अतिरित्त महानिरीक्षक(एआईजी) कार्कीलाई मुलुकको ३३ औं प्रहरी महानिरीक्षक बनाएको हो।
आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ गते अवकाशमा जाने भएपछि सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक बनाएको हो। आईजीपी खापुङले भदौ १९ बाट प्रहरीको नेतृत्व लिएका थिए।
कार्कीसँगै एआईजीद्वय राजन अधिकारी र डा. मनोजकुमार केसी र सिद्धीबिक्रम शाह आईजीपीको दाबेदार थिए।
२०८२ वैशाखमा एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए। कार्की २०५४ चैत १८ मा प्रहरी महानिरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्न पाउनेछन्।
उनी यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखका रूपमा कार्यरत थिए ।कार्की २०२९ साउन १५ गते गुल्मीमा जन्मिएका हुन्। उनी २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।


