काठमाडौँ: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल भारतको नयाँ दिल्लीमा हुने नवौँ नेपाल–भारत समन्वयात्मक बैठकमा सहभागी हुन कार्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेका छन्। महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलसहितका वरिष्ठ अधिकृतहरूले हार्दिक बिदाइ गरे।
उनीसँगै सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तण्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल पनि टोलीमा सहभागी छन्।
कार्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न हुने उक्त बैठकमा नेपाल र भारतबीच सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदान–प्रदान र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन द्विपक्षीय समन्वय र सहकार्यबारे छलफल हुने जनाइएको छ।
नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको यस्तो समन्वयात्मक बैठकले सीमा क्षेत्रको शान्ति, सुरक्षा सुदृढीकरण र आपसी सहकार्य प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
महानिरीक्षक अर्यालको अनुपस्थितिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछ।


