काठमाडौं। मध्यमार्गी सहमतिपछि उद्योगीहरुले धमाधम बिजुलीको बक्यौता महशुल बुझाउन थालेका छन्। यसैगरी सोनापुर मिनरल एन्ड आयल लिमिटेडले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ।
पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत प्राधिकरणले काटिएको विद्युत लाइन जोडेको छ।
दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरलले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको हो।
पहिलो किस्ता तिरेपछि गत कात्तिक ७ मा विच्छेद गरिएको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ।
सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।
सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो।


