काठमाडौं। एचईडी इनर्जी प्रालिले ८८ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना बनाउने भएको छ। आयोजनाबाट बिजुली उत्पादन गर्न एचईडीले विद्युत विकास विभागमा आवेदन दिएको छ। विभागले आगामी ३५ दिनपछि विद्युत उत्पादन इजाजतपत्र (लाइसेन्स) दिनेछ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ र विगु गाउँपालिका वडा नम्बर १ भएर बग्ने रोल्वालिङ खोलाको पानीलाई उपयोग गर्दै नदी प्रवाहमा आधारित (आरओआर) रोल्वालिङ खोलाबाट बिजुली उत्पादन गर्ने योजना कम्पनीको छ।
आयोजनाबाट वार्षिक ४८ करोड २१ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ। आयोजनाको डिजाइन बहाव प्रतिसेकेन्ड ११ घनमिटर र कुल हेड ९६१ मिटर अग्लो रहनेछ।
आयोजनाको सम्पूर्ण संरचनाहरू दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ र विगु गाउँपालिका वडा नम्बर १ भएर बग्ने रोल्वालिङ खोलाको बायाँ किनारमा रहने भएको छ।
रोल्वालिङ खोलामा बाँध बाँधी खोलाको बायाँ किनारमा निर्माण हुने साइड इन्टेकबाट पानी फर्काई सो पानीलाई आयोजनाका मुख्य संरचनाहरू सेलिङ बेसिन, हेडरेस सुरुङ, सर्ज साफ्ट र पेनस्टक पाइप हुँदै भूमिगत विद्युतगृहमा लगिनेछ। तत्पश्चात टेलरेस नहरमार्फत पुनः रोल्वालिङ खोलामा पठाइने भएको छ।
विद्युत उत्पादनका लागि खोलाको पानी फर्काउन कन्भेन्सनल कङ्क्रिट ओभरफलो प्रकारको ६ मिटर अग्लो २५ मिटर लम्बाइ भएको डाइभर्सन वेयर (बाँध) बनाइने भएको छ। बाँधको क्रेष्ट लेभल रोल्वालिङ खोलामा समुद्री सतहबाट ३४ सय ११ मिटर उचाइमा रहनेछ।
बाँधले रोल्वालिङ खोलाको पानीको बहावलाई मोडी २ वटा संख्यामा रहेका ३.५ मिटर चौडाइ र ३.५ मिटर उचाइ आकारका साइड इन्टेक हुँदै १६८ मिटर लम्बाइ र २.२ मिटर व्यास भएका कनेक्टिङ पाइप मार्फत १०० मिटर लम्बाइ र ८ मिटर चौडाइको दुई समान कक्ष भएको सेटलिङ बेसिन (थिग्ग्राउने पोखरी) मा पठाइने भएको छ।
सेटलिङ बेसिनबाट ४८ सय ५८ मिटर लम्बाइ र ३ मिटर व्यास भएको हेडरेस सुरुङबाट पानीलाई ५ मिटर आन्तरिक व्यास र ५८.४६ मिटर उचाइ भएको सर्ज साफ्ट हुँदै पेनस्टक पाइपमार्फत रोल्वालिङको बायाँ किनारमा प्रस्तावित भूमिगत विद्युत गृहमा पुर्याइने भएको छ।
विद्युतगृह भूमिगत हुनेछ। २९.३५ मेगावाट क्षमताका तीनवटा पेल्टर्न टर्बाइन जडान गरिने भएको छ। विद्युत उत्पादनपछि ३३० मिटर लम्बाइ र ३ मिटर चौडाइ र ३ मिटर गहिराई भएको टेलरेस सुरुङ मार्फत पानीलाई पुनः रोल्वालिङ खोलामा पठाइनेछ। आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको बाह्रबीसे सबस्टेशनमा जोडिने भएको छ। रोल्वालिङ तामाकोसीको सहायक खोला हो।


