काठमाडौँ- राष्ट्रिय सभाका सांसदसमेत रहेका उपप्रधानमन्त्री वामदेव गौतम एमाले फर्कन तयार भएका छन्। नेकपा एमालेले ७० वर्षीय उमेरहदको व्यवस्था खारेज गरेसँगै गौतम एमालेमा प्रवेश गर्न लागेका हुन्।
बुधबार अपराह्न संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेमा फर्कन तयार भएको बताएका हुन्। तर त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने गौतमको शर्त थियो।
‘तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथी छन्। त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौँ। यही अवस्थामा जान्छौं। अरु केही पर्दैन,’ उनले भने, ‘उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ। किनभने पार्टी उहाँसँग छ। मसँग पार्टी छैन अहिले। मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नुभएन। निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ। उहाँहरुले भन्नुभएन।’
आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको उनको भनाइ छ। ‘मेरो सदस्यता त्यहीँ छ। मैले निर्माण गरेको पार्टी हो। मैले त्यसलाई माया गर्छु,’ गौतमको भनाइ छ। एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि आफू जान नलागेको उनको जिकिर छ।
उता ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन्। संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए। ‘उहाँको सदस्यता एमालेमै छ,’ ओलीको प्रतिक्रिया थियो।
‘बाँकी केही छ र थप कुरा? उहाँले एकता अभियान चलाउनुभयो। त्यो अभियान मात्रै हो। पार्टी खोलेको होइन। उहाँको पार्टी सदस्यता एमालेमै छ,’ ओलीले भनेका छन्।
२०७८ भदौ १८ गते गौतमले एमाले उपाध्यक्षको पदबाट राजीनामा दिएका थिए। उनले एमाले कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका थिए। लामो समयदेखि नै अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए।
एमाले छोडेर उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका थिए। उक्त पार्टीका लागि उनले गीत पनि लेखिदिएका थिए। तर उनी उक्त पार्टीमा पनि समाहित हुन भने सकेनन्।
२०७७ पुस २५ गते वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएपछि गौतम दुवैतिर नलागी एकता अभियान चलाएका थिए।
गौतमले ओलीलगायतका नेताहरूको अयोग्यताका कारण पार्टी फुटेको बताएका थिए। पार्टीमा उत्पन्न समस्या समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने घटना पीडादायी भएको उनको भनाइ थियो।
कार्यकर्तालाई तानातान गर्दै केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेको भएपनि एकता जोगाउन वा पुनर्एकिकरण गर्ने उद्देश्य लिएर आफू कतै नगएको बताएका थिए।
२०७७ चैत ३ गते गौतमले अभियानको नाम फेरे। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका थिए।
गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले)एकता राष्ट्रिय अभियान बनाए। एमालेलाई एकताबद्ध गर्न अभियानको नाम फेरिएको उनको भनाइ थियो।
तत्कालीन नेकपाकालमा उनी ९ सदस्यीय सचिवालय कमिटीमा एक जना सदस्य गौतम पनि थिए। नेकपा विभाजन हुँदा प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश माओवादीमा गए। एमाले विभाजन हुँदा माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिए। ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल ओलीतिर लागेका थिए। गौतम कुनै पनि पक्षमा खुलेका थिएनन्।


