काठमाडौं। महिन्द्राले विश्वकै पहिलो फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक गरेको छ।
यसको मूल्य भारतीय रुपैयाँ २३.६९ लाख तोकिएको छ। यसका अतिरिक्त, थप सुविधासहितको एफई–३ भेरियन्टको मूल्य भने २४.४९ लाख भारु तोकिएको छ।
कम्पनीका अनुसार, बुकिङ १४ जनवरी २०२६ देखि सुरु हुनेछ भने डेलिभरी १४ फेब्रुअरी २०२६ बाट प्रारम्भ हुनेछ। पहिले आउने ९९९ जना ग्राहकले विशेष सुविधाहरू पाउनेछन्। साथै, छनोट गरिएका तीन भाग्यशाली ग्राहकले २०२६ को लन्डन ई–प्रिक्स प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।
यस संस्करणमा बीई–६ को आधारभूत प्रदर्शनलाई जोगाउँदै रेसिङ–थिमका विशेष फिचरहरू थपिएका छन्। यसले ०–१०० किमी/घन्टा ६.७ सेकेन्डमा गति लिन सक्छ, २८२ बीएचपी पावर उत्पादन गर्छ र ७९ किलोवपाट ब्याट्री सहित करिब ५०० किमि वास्तविक रेंज प्रदान गर्छ। साथै, यसमा रेस–मोडबाट प्रेरित टर्क डेलिभरी पनि समावेश गरिएको छ।
महिन्द्राले बीई ६ फर्मुला ई एडिसन राइड पनि सार्वजनिक गरेको छ। जुन बालबालिकाका लागि तयार गरिएको रमाइलो, रेस–थिमको टोडलर कार हो। यसको मूल्य भारतीय रुपैयाँ १८,००० तोकिएको छ र अप्रिल २०२६ देखि उपलब्ध हुनेछ। कम्पनीले यसको डिजाइनलाई पूरै आकारको एसयूभीसँग मिल्दोजुल्दो बनाएको बताएको छ जसले साना बालबालिकामाझ इभि (इलेक्ट्रिक) को आकर्षण बढाउने लक्ष्य राख्छ।
महिन्द्राका शीर्ष अधिकारी आर भेलुसामी, प्रेसिडेन्टले भने,‘भारतमा रेसिङ अब निस्को रुचि मात्र रहेन, यो जीवनशैली बन्दैछ। यही उर्जालाई सुनेर हामीले यो फर्मुला–ई एडिसन बनायौं—साहसी, भावनात्मक र भारतमै बनेको।’
कम्पनीका अनुसार, भारतमा द्रुत रूपमा बढिरहेको मोटरस्पोर्ट लोकप्रियतालाई सम्मान गर्दै यो संस्करण सार्वजनिक गरिएको हो।
महिन्द्राले आफ्नो लामो मोटरस्पोर्ट यात्रा—र्याली स्पोर्टदेखि फर्मुला–ई ग्रिडमा जित हासिल गर्ने एकमात्र भारतीय टोली—सम्मको अनुभवलाई सडकमा ल्याएको दाबी गरेको छ। यस संस्करणमा मोटरस्पोर्ट–प्रेरित स्टाइलिङ, ग्राफिक्स र इन्टेरियर डिटेलिङलाई प्राथमिकता दिइएको छ।


