एजेन्सी। जर्मन गाडी उत्पादक फक्सवागन समूहले भारतमा रहेका आफ्ना दुई कारखानामा कार्यरत सबै कामदारलाई हटाउने भएको छ। दुई प्लान्टमा २३ सय कामदार कार्यरत छन्। कम्पनीले कामदारहरूलाई प्रारम्भिक अवकाशको प्रस्ताव गरिरहेको छ।
फक्सवागन अटोमेकरले विश्वको तेस्रो ठूलो कार बजार भारतमा वृद्धिको अवरोधहरू पार गर्न खोजिरहेको छ। अवरोध पार गर्न फक्सवागन समूहले भारतमा व्यापक पुनर्संरचना सुरु गरेको छ।
फक्सवागनले कर छली गरेको आरोपमा मुद्धाको सामना गरिरहेको छ। उसले अहिलेसम्मकै सबैभन्दा ठूलो १.४ अर्ब डलरको आयात कर मागको सामना गरिरहेको छ। उसले सरकारी माग दावीहरूलाई अस्वीकार गरेको छ।
भारतमा फक्सवागनले स्कोडा, आउडी, पोर्श, ल्याम्बोर्गिनी र बेन्ट्ली जस्ता महंगा ब्रान्डका गाडी बेच्ने गरेको छ। यो समूहको दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको भए पनि भारतमा बजार हिस्सा केवल दुई प्रतिशत मात्र छ।
स्कोडाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्लाउस जेल्मरले विशेष गरी भारतमा वृद्धिको आवश्यकताको बारेमा बोलेका छन्। फक्सवागन ब्रान्डको अब चीनमा ठूलो उपस्थिति छैन र रूसबाट बाहिरिएको छ।
भारतमा फक्सवागनका दुवै कारखानाहरू तिनीहरूको स्थापित उत्पादन क्षमताभन्दा कममा चलेका छन्।
समूहले आफ्ना कामदारहरूको लागि जनशक्तिलाई तर्कसंगत बनाउन र यसलाई वर्तमान आवश्यकताहरूसँग मिलाउन प्रारम्भिक अवकाश योजना ल्याएको रोयटर्सले जनाएको छ।
“कम्पनीको पुनर्संरचना कार्यक्रम भारतप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै यसको व्यवसायलाई बलियो बनाउन डिजाइन गरिएको हो” स्कोडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
दुबै कारखानाहरू भारतको पश्चिमी महाराष्ट्र राज्यमा अवस्थित छन्। जहाँ कम्पनीले स्कोडा कुशाक एसयूभी, फक्सवागन भर्टस सेडान र अडी क्यू३ र क्यू५ लगायतका कारहरू भारतमा बिक्रीको लागि उत्पादन गरेर मेक्सिको र दक्षिण अफ्रिका जस्ता बजारहरूमा निर्यात गर्दछ।
(दि इकोनोमिक टाइम्सको सहयोगमा)


