काठमाडौं। पुनर्संरचनाकोे प्रक्रियामा गएको सरकार स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वर्षेनी सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ।
चालू आर्थिक वर्षमा पनि नेप्सेले ८५ प्रतिशत नगद लाभांश दिने भएको छ। नेप्सेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८५ करोड रुपैयाँ लाभांश प्रस्ताव गरेको हो। लाभांश दिने प्रस्ताव पारित गर्न नेप्सेले यही पुस २९ गते ४४ औं वार्षिक साधारणसभा बोलाएको छ।
नेप्सेको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ। कम्पनीको पुनर्संरचना प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सरकारले गठन गरेको पाँच सदस्यीय अध्ययन समितिले पुनर्संरचनाको काम सुरु गरेको छ। यही मंसिर ८ गते बसेको पहिलो बैठकपछि नियमित रूपले काम सुरु गरेको नेप्सेले जनाएको छ।
नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा बनेको समितिलाई सरकारले ५० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत नेप्सेलाई प्रतिस्पर्धी बनाउँदै पुनर्संरचना गर्ने नीति सार्वजनिक गरेपछि अर्थ मन्त्रालयले नेप्सेको वित्तीय अवस्था, कारोबार संरचना, सेयर स्वामित्व र आन्तरिक प्रणालीसमेतको विवरण माग गरेको थियो।
सेबोनले नेप्सेको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुर्याउनुपर्ने, स्वामित्व संरचना परिवर्तन गरी ३० प्रतिशत सेयर सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मार्फत बिक्री गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।
हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ९.५१ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, लक्ष्मी र प्रभु बैंकका पाँच–पाँच प्रतिशत तथा धितो दलाल व्यवसायीहरूको ०.६ प्रतिशत सेयर छ।
राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले नेप्से पुनर्संरचना र नयाँ स्टक एक्सचेन्ज स्थापना—दुवै विकल्प प्रस्तुत गर्दै प्रतिवेदन बुझाएको थियो।


