काठमाडौँ: निजी क्षेत्रबाट सञ्चालन भइरहेको कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले शेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले ३० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कैलाशले शेयरधनीहरूलाई छ करोड ३० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले लाभांश र शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न यही पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ।
यसैगरी कम्पनीले चुक्ता पुँजी बढाएर ५० करोड रुपैयाँ पुर्याउने भएको छ। हाल कम्पनीको चुक्ता पुँजी साढे ३१ करोड रुपैयाँ छ। अब साढे १८ करोड रुपैयाँ बढाएर ५० करोड रुपैयाँ पुर्याउने तयारी भएको कम्पनीका प्रवन्ध सञ्चालक प्रतापजंग पाण्डेले बताए। कम्पनीको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ छ।
कम्पनीले बोनस शेयर, हकप्रद शेयर र साधारण शेयर (आईपीओ) जारी गरेर उक्त पुँजी पुर्याउने उनले जानकारी दिए। बोनस शेयर, हकप्रद शेयरबाट ४० करोड रुपैयाँ पुग्नेछ। त्यसपछि बाँकी १० करोड रुपैयाँबराबरको प्रिमियमा साधारण शेयर (आईपीओ) जारी गरेर पुँजी पुर्याउने उनले बताए।
नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले गरेको व्यवस्थाअनुसार कैलाशले पुँजी बढाउन लागेको हो। कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा प्रस्ताव गरिसकेको छ।
कैलाशले २०७४ चैत १० गते (२०१८ मार्च २३ तारिख) देखि दुईवटा हेलिकोप्टरबाट सेवा सुरु गरेको थियो। हालसम्म आइपुग्दा कैलाशसँग तीन वटा हेलिकोप्टर छन्। आगामी पाँच वर्षमा कम्तिमा २ वटा हेलिकोप्टर थप्ने योजना कम्पनीको छ।
उडड्यन प्राधिकरणको नीतिअनुसार आउँदो पाँच वर्षमा हेलिकोप्टरको संख्या पाँच पुर्याउने तयारी कम्पनीको छ। कम्पनीले २०७६ भदौमा कम्पनीले एउटा हेलिकोप्टर थपेको हो। कम्पनीले तीनवटा एअरबस एएस ३५० हेलिकोप्टरबाट सेवा दिँदै आएको छ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न कैलाशले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
आईपीओ निष्काशन गर्न कैलाश हेलिकोप्टर पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण भएको छ। कम्पनीको २०८० असार ३१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार प्राइभेटबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो।
२०७७ सालमा बढी आयकर दाखिला गरेको भन्दै सरकारले कैलाश हेलिकोप्टरलाई सम्मान गरेको थियो। कैलाशले आर्थिक वर्ष २०७५र०७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो ।
कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउन, कर्पोरेट फ्लाइट, ह्युमन कार्गो स्लिङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेसल एडभेञ्चर मिसन, स्काई डाइभिङ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको छ।


