काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक रूपमा सफलतापूर्वक सुरुवात गरेको छ। एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सुचारु गरेको छ।
यस सेवामार्फत ग्राहकहरूले एकल पदानुक्रमिक स्वीकृति संयन्त्र तथा बल्क अपलोडमार्फत कारोबार गर्ने सुविधा, मेकर–चेकर प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन्। साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषताहरूसमेत उपलब्ध छन्।
हाल यस कर्पोरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड बनेको छ। बैंकले यस सेवालाई बिजनेक्स नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पोरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ। बिजनेक्समार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रूत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ।
यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापनलाई अझ मजबुत बनाइदिएको छ, जसले डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुर्याएको छ।


