काठमाडौँ: कोशी प्रदेशका साना तथा लघु उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित ग्लोबल आइएमई बैंक लिमिटेड र डीएआई–उदय परियोजनाबीच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेड र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशमा सञ्चालित साना तथा लघु उद्यमलाई सहजरूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले औपचारिक समझदारी भएको हो। उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका छन्।
समझदारीपछि कोशी प्रदेशका विभिन्न साना तथा लघु व्यवसायले ग्लोबल आइएमई बैंकमार्फत सहज रूपमा कर्जा प्राप्त गर्नेछन्। बैंकका अनुसार लगानीको अभावका कारण व्यवसाय विस्तार गर्न नसकेका उद्यम तथा उद्यमीहरूलाई यो सहकार्यले व्यवसाय विस्तारमा सहयोग पुग्ने र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
सम्झौता अनुसार डीएआई–उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशअन्तर्गतका सम्पूर्ण शाखा कार्यालयबाट कर्जा सुविधा लिन सक्नेछन्।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगसहित सञ्चालन हुँदै आएको डीएआई–उदय परियोजनाले हाल कोशी प्रदेशका सबै जिल्लामा आफ्नो गतिविधि विस्तार गरेको छ।
परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायत क्षेत्रका उद्यमलाई कर्जा उपलब्धता तथा व्यवसायिक उन्नतिका लागि वित्तीय स्रोतमा पहुँच सहज बनाउँदै आएको छ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा रहेको ग्लोबल आइएमई बैंकका हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ, जसले नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको जनाएको छ।


