काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संविधान र संघीयताबारे आफ्नो लाइन क्लियर गरेका छन्। हालसम्म राजनीतिक सिद्धान्तका विषयमा ‘डार्क साइड’मा बसिरहेका उनले जेनजी अगुवा रक्षा बमसँगको भेटघाटमा बुधबार यसबारे प्रष्ट पारेका हुन्।
आइतबारयता बालेन राजनीतिक भेटघाटमा व्यस्त छन्। आइतबार र सोमबा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए। सोमबार साँझदेखि मध्यरातिसम्म लामिछाने र बालेनबिच राजनीतिक सहकार्यका लागि छलफल भएको थियो। भेटमा बालेनले लामिछानेमाथि सहकारी ठगीको मुद्दा रहेकाले नेतृत्व फेर्न सुझाएका थिए। तर लामिछाने त्यसमा सहमत नभएपछि बालेन विभिन्न दलका नेता, स्वतन्त्र अभियन्ता र जेनजी अगुवासँग भेटघाटमा छन्।
यस क्रममा उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, डा भगवान कोइराला, सीके राउत, मिलन पाण्डे, रेशम चौधरी, ज्ञानेन्द्र शाही, नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमलगायतसँग भेट गरेका छन्।
बुधबार बालेनको सचिवालयले बोलाएपछि बम बालेनलाई भेट्न पुगेकी थिइन्। बालेनले जेनजी प्रतिनिधिहरूलाई एकजुट गराउने जिम्मेवारी लिन बमलाई आग्रह गरेका थिए। त्यसक्रममा बालेनसँग बमले सहकार्यका लागि संविधान, संघियता र लोकतन्त्रबारे सैद्धान्तिक आधार खोजेकी थिइन्।
नेपाल क्लिक्ससँग कुरा गर्दै बमले भनिन्, ‘उहाँले कार्यान्वयन गर्नेहरूको कमजोरीका कारण आलोचित भए पनि अहिलेको संविधान बेस्ट भएको बताउनुभयो। लोकतन्त्र चाहिने कुरामा उहाँ स्पष्ट हुनुहुन्छ। संघीयताबारे पनि स्पष्ट पार्दै संघीयता चाहिने बताउनुभयो।’
बालेन आफैँ दल निर्माण गरेर संसदीय निर्वाचनमा जाने तयारीमा जुटेका छन्। उनी लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीको नेतृत्व हाँक्ने तयारीमा लागेका हुन्। देश विकास पार्टी निर्वाचन प्रयोजनका लागि लौरो चुनाव चिह्न लिएर आयोगमा दर्ता भैसकेको छ। दल निर्माणका लागि उनले कुपोण्डोलस्थित कुमार बेनको घरमा राजनीतिक भेटघाट तीव्र पारेका छन्।


