२०८३ कार्तिक १२ गते बुधबार

१९ वाणिज्य बैंकले गरे लाभांश घोषणा, एभरेष्टले सर्वाधिक बाँड्दा पाँच बैंकका शेयरधनीको हात खाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १०
bank

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूले धमाधम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन्। नेप्सेमा सूचिकृत १९ वाणिज्य बैंकमध्ये १३ ले लाभांश घोषणा गरिसकेका छन् भने पाँच बैंकले यो वर्ष शेयरधनीहरुलाई लाभांश नदिने भएका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचिकृत छैन।

एनआईसी एसिया बैंकले लाभांश घोषणा गर्न बाँकी छ। एनआईसी एसियाले पनि लाभांश नदिने सम्भावना छ।

नेप्सेमा सूचीकृत बैंकहरूमध्ये नबिल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले लाभांश घोषणा गरिसकेका छन्।

तीमध्ये केही बैंकको लाभांश वार्षिक साधारण सभाबाट पारित भइसकेको छ भने केही बैंकको साधारणसभा हुन बाँकी छ। यस वर्ष बैंकहरूले बोनस शेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन्। अधिकांश बैंकले मिश्रित रूपमा बोनस र नगद लाभांश घोषणा गरेका छन् भने केही बैंकले पूर्ण रूपमा नगद लाभांश मात्र दिने निर्णय गरेका छन्।

कुन बैंकको कति?

एभरेष्ट बैंक
हालसम्म लाभांश घोषणा गर्ने बैंकहरूमध्ये एभरेष्ट बैंक सबैभन्दा बढी लाभांश दिने बैंक बनेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसमेत) र ६ प्रतिशत बोनस शेयर रहेको छ। उक्त लाभांश बैंकको वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।

एनएमबी बैंक
एनएमबी बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित हुन बाँकी छ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस १४ गते वार्षिक साधारणसभा बोलाएको छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिएको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको हो। यो लाभांश बैंकको वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१÷८२ का लागि ८ प्रतिशत लाभांश दिएको छ। यो बैंक यस वर्ष सबैभन्दा पहिले लाभांश घोषणा गर्ने वाणिज्य बैंक बनेको हो। बैंकले ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ। लाभांश साधारण सभाबाट पारित भइसकेको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिएको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो। लाभांश पनि साधारण सभाबाट पारित भइसकेको छ।

सानिमा बैंक
सानिमा बैंकले शेयरधनीलाई ७.३६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। बैंकले यस वर्ष बोनस शेयर दिएन। लाभांश वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिएको छ। यो प्रस्ताव पनि वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। लाभांश पनि साधारण सभाबाट पारित भइसकेको छ।

कृषि विकास बैंक
कृषि विकास बैंकले शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश दिएको छ। जसमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। साथै, फिर्ता नहुने अग्राधिकार शेयरमा वार्षिक ६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरिएको छ। यो प्रस्ताव साधारण सभाबाट पारित भइसकेको छ।

नबिल बैंक
नबिल बैंकले शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न यही पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यही पुस ३० मा हुने साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

यी हुन् लाभांश नदिने बैंकहरू
यस वर्ष कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकले शेयरधनीलाई लाभांश नदिने भएका छन्। कम्पनी ऐनअनुसार आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सार्वजनिक कम्पनीहरूले वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भएकाले बाँकी बैंकहरूले यही महिनाभित्र लाभांश घोषणा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ पुस १० गते बिहिबार ०२:३७
प्रतिक्रिया

थप समाचार

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना