काठमाडौँ: विशेष अदालत पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। बुधबार विशेषका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश गरेको हो।
उक्त आदेशसँगै अब मुद्दाको टुंगो नलागेसम्म पूर्वमन्त्री गुप्ताले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको छ।
गुप्ताले कास्कीको मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको दुईवटा अडियो सार्वजनिक भएको थियो।
गुप्ताले अधिकारीलाई सरुवा थमौती गराइदिने तथा पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गराइदिने भनी घरजग्गा व्यवसायीसँग घुस लिएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
अदालतमा गुप्ताको बयानपछि थुनछेक बहसका क्रममा सरकारको तर्फबाट सहन्यायाधिवक्ताद्वय गोविन्द खनाल र उमाकान्त पौडेल तथा विशेष सरकारी वकील कार्यालय, काठमाडौँ उपन्यायाधिवक्ता घनश्याम घिमिरेले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बहस गरेका थिए। यस्तै पूर्वमन्त्री गुप्ताका तर्फबाट कानुन व्यवसायीहरू भरत लम्साल र कृष्ण प्रसाद पोखरेल थुनाबाहिर बसेर पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका थिए।
दुवै पक्षको बहसपछि अदालतले ६ वटा आधार देखाउँदै पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
यी हुन् अदालतले गुप्तालाई थुनामा पठाउन लिएका आधार
१) गुप्ताविरुद्ध रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय, कास्कीबाट भएको सरुवा थमौती गराइदिने तथा खमबहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने भनी घरजग्गा व्यवसायीसँग घुसवापत रकम लिएको भन्ने उजुरी निवेदन परेको थियो। उक्त उजुरीसाथ अडियो र भिडिओसमेत पेस गरिएको थियो। अडियो र भिडिओको स्क्रिप्ट उतारेर हेर्दा गुप्ता र अन्य प्रतिवादीहरू रञ्जिता श्रेष्ठ र सुजनकुमार तामाङसँग भएको फोन संवादमा उल्लिखित विषयहरू समावेश हुनु र संवादको फरेन्सिक परीक्षण प्रतिवेदन मिल्नु।
२) सहप्रतिवादी सुजनकुमार तामाङले अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयानमा गुप्ताको नाम पोल्नु।
३) सुरज शाह ठकुरी र यमकुमारी गुरुङबीच २०८१ जेठ २० मा करार सम्झौता भएको थियो। उक्त करारपछि यामकुमारी गुरुङको नाममा रहेको बैंक खातामा प्रतिवादी तुल्सीराम बुढामगरले रकम जम्मा गरेको र रकम झिकेको भन्ने गरिमा विकास बैंकको स्टेटमेन्ट विवरण देखिनु।
४) प्रतिवादीहरूबीचको फोन सम्पर्कको डिटेल विवरणमा घुस डिल गरेको भेटिनु।
५) राजकुमार गुप्तालाई सहप्रतिवादीहरू रामचन्द्र अधिकारी, रञ्जिता श्रेष्ठ र सुजन कुमार तामाङले पठाएको एसएमएस विवरण।
६) प्रतिवादी रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गणना गरिएको र गाडीमा राखिएको बेलामा खिचेको फोटोहरू भनी उजुरीसाथ पेस भएका फोटाहरू।


