झापा। सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा चार करोड ७० लाख ९३ हजार रुपैयाँबराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ।
कम्पनी अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको छ।
शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ। झापा इनर्जीले उत्पादन गरेको विद्युत् प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ।
इनर्जीले २०८० साल माघ १० गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो ।
बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ। परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन्। परियोजनाबाट उत्पादित सौर्य बिजुलीलाई एक किलोमिटरको दूरीभित्रै रहेको विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
झापा इनर्जीले आर्थिक वर्ष २०८०/०८१ मा पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो। आर्थिक वर्ष २०८१/०८२ मा बिक्री बढेर नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए।


