काठमाडौँ: गोर्खा ब्रुअरी तथा कार्ल्सबर्ग ग्रुपले २७ औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण प्रवर्द्धन गर्ने विशेष अभियान सञ्चालन गरेका छन्। पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सम्मान गर्दै सञ्चालन गरिएको यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिको सहकार्यमा अघि बढाइएको हो।
प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका कारण विश्वभर परिचित पोखराको पहिचान जोगाउन सरसफाइ अपरिहार्य रहेको जनाउँदै आयोजकहरूले ठूला सार्वजनिक महोत्सवहरूमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने बताएका छन्। त्यसलाई मध्यनजर गर्दै दिगो फोहोर व्यवस्थापनमार्फत सहरलाई सधैँ स्वच्छ र स्वागतयोग्य राख्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत गोर्खा ब्रुअरीले बोतल तथा क्यान, पुनः प्रयोगयोग्य फोहोर र सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन उपलब्ध गराएको छ। ती डस्टबिनहरू पोखराको लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएका छन्, जसले सर्वसाधारणलाई सही तरिकाले फोहोर व्यवस्थापन गर्न प्रोत्साहन गरेको छ।
संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणमैत्री तरिकाले प्रशोधन गर्ने व्यवस्था मिलाएको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय सहभागिताका लागि प्रेरित गरेको छ।
गोर्खा ब्रुअरीका अनुसार, ‘पोखरा नेपालकै एक स्वच्छ र सुन्दर सहर हो, जसलाई पर्यटक र स्थानीय दुवैले उत्तिकै माया गर्छन्। फोहोर संकलनका लागि डस्टबिनहरू राख्ने यो पहलले आजको महोत्सव मात्र नभई भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा योगदान पुर्याउने हाम्रो प्रतिबद्धता दर्शाउँछ।’
महोत्सव अवधिभन्दा बाहिर पनि यो अभियानलाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापनको अभ्यास सुदृढ बनाउने, जनचेतना अभिवृद्धि गर्ने र दिगो पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने बताइएको छ।







