काठमाडौं – भारतलाई हराउँदै अष्ट्रेलियाले सोमबार विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ। इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलको अन्तिम दिनमा इन्डिया अलआउट भएपछि अष्ट्रेलियाले २ सय ९ रनको जित निकालेको हो।
खेलमा अष्ट्रेलियाले ४ सय ४४ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुँदै २ सय ३४ रन मात्र बनाउन सक्यो।
भारतका विराट कोहलीले अर्धसतक बनाउनबाट एक रनले चुके। उनले अजिक्य रहाणेसँग मिलेर चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।
कोहली र रहाणेको उक्त साझेदारीले भारतलाई खेलमा फर्काउने कोशिश गरेको भए पनि सकेनन्।
खेलमा राहाणेले ४६, कप्तान तथा ओपनर रोहित शर्माले ४३ रन र केएस भरतले २३ रन बनाए।
अष्ट्रेलियाका लागि नाथन लायनले ४ तथा स्कट बोल्यान्ड ३ विकेट लिए। मिचेल स्टार्कले आफ्नो नाममा २ विकेट गरे।
त्यसअघि अष्ट्रेलियाले चौथो दिनमा दोस्रो इनिङ्समा २ सय ७० रनमा ८ विकेट गुमाएर समाप्तिको घोषणा गरेको थियो। पहिलो इनिङमा १ सय ७३ रनले पछि रहेको भारतले दोस्रो पारीमा ४ सय ४४ रनको विशाल लक्ष्य पाएको थियो।
दोस्रो ईनिङ्समा अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी अविजित ६६ रन बनाए। भारतका रविन्द्र जडेजाले ३ तथा मोहम्मद शामी र उमेश यादवको नाममा समान २,२ विकेट रह्यो।
भारत पहिलो इनिङमा २ सय ९६ रनमा अलआउट भएको थियो। पहिलो पटक फाइनल पुगेको अष्ट्रेलियाले पहिलो उपाधि जितेको हो। यसअघि पनि फाइनल पुगेको भारत भने उपाधिविहिन छ।


