काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा तीन प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले तीन महिनामा ३.०२ प्रतिशत मात्र आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमाशको तुलनामा चालु आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिमा ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ।
त्रैमासिक जीडीपी आधारभूत मूल्यमा आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा १.६८ प्रतिशत संकुचन भएको प्रारम्भिक अनुमान छ।चालू आर्थिक वर्षमा सरकारले छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ।
पहिलो त्रैमाशमा विद्युत उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटन आगमन लगायतका विभिन्न क्रियाकलापमा भएको वृद्धिले तीन प्रतिशत आर्थिक विस्तार हुन गएको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा खाद्यान्न वाली, वनपैदावर, निर्जीवन बिमा, आन्तरिक उत्पादनका निर्माण सामाग्री लगायतका उत्पादनमा देखिएको संकुचनका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अंकमा सिमित रहेको कार्यलयले जानकारी दिएको छ। समग्रमा पहिलो त्रैमाशमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरण सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ।
आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२०८३ को पहिलो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये १३ ओटा क्षेत्रमा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन ऋणात्मक भएको अनुमान गरिएको हो।
आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१०८२ को पहिलो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका सबै १८ ओटा औद्योगिक वर्गिकरणहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रारम्भिक अनुमान छ।
जसमध्ये विद्युत तथा ग्याँस सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर १४.९१ प्रतिशत रहेको छ भने यस क्षेत्रलाई पछ्याउँदै वित्तीय तथा बिमासम्वन्धी क्रियाकलाप, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रमा क्रमशः ७.०७ र ५.५२ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको
छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर १.३६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। धान वालीको उत्पादनमा भएको कमी देखिए पनि पशुपंन्छी, तरकारीबाली तथा फलफुल उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ३.८९ प्रतिशत भएको अनुमान गरिएको छ। व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ।
त्यसैगरी, गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा कम वृद्धिदर १.११ प्रतिशत, पानी आपुर्ति, ढल निकास, फोहोर व्यवस्थापन तथा उपचारात्मक क्रियाकलाप र यो क्षेत्रपछिको कम वृद्धिदर १.१९ प्रतिशत मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलापको रहेको छ।
मुलुकको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा आर्थिक वर्ष २०७८०७९ को चौथो त्रैमासिकमा सबैभन्दा धेरै र २०७९/०८० को दोस्रो त्रैमासिक सबैभन्दा थोरै देखिन्छ भने अन्य वर्षहरूमा सामान्य घटबढ रहेको देखिएको कार्यालयले जनाएको छ।प्रकाशित त्रैमासिक राष्ट्रिय लेखाका अनुमान आर्थिक वर्ष २०६७/०६८ लाई आधार वर्ष मानेर तयार गरिएको कार्यालयले जनाएको छ।


