काठमाडौँः नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बुधबार उक्त साधारणसभा सम्पन्न भएको हो। साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र विभिन्न चुनौतीका बाबजुद लचिलो बन्दै गएको उल्लेख गर्दै कोभिड–१९ महामारी तथा भूराजनीतिक कारणले बढेको विश्व मुद्रास्फीति क्रमशः घट्दै गएको बताइन्। उनले अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अपनाइरहेको जानकारी दिँदै नेपालमा आर्थिक वर्ष २०८१/०८२ मा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको तर आगामी आर्थिक वर्ष २०८२/०८३ मा राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण वृद्धिदरमा दबाब पर्न सक्ने आकलन प्रस्तुत गरिन्।
आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जनाउँदै सो अवधिमा कुल बिमा शुल्क १०.२६ प्रतिशतले वृद्धि भई दुई अर्ब २५९ करोड ३७ लाख रुपैयाँ पुगेको जानकारी दिइयो। सञ्चालनबाट एक अर्ब ४९८ करोड ५९ लाख रुपैयाँ खुद थप रकम बिमा करार दायित्वमा सारिएको छ भने कुल बिमा करार दायित्व अघिल्लो वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई नौ अर्ब ४५८ करोड ७७ लाख रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा कम्पनीले विभिन्न दाबी भुक्तानी शीर्षकमा ९४८ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीले नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शी तथा दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ। समीक्षा वर्षमा कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले वृद्धि भई सात अर्ब ७९० करोड २० लाख रुपैयाँ पुगेको छ भने लगानीबाट प्राप्त औसत वार्षिक प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ।
लगानी विविधीकरणअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीले हिमालयन बैंक लिमिटेडको दुई करोड ८० लाखभन्दा बढी कित्ता संस्थापक सेयर खरिद गरी उक्त बैंकमा १३.६१ प्रतिशत सेयर स्वामित्व कायम गरेको जानकारी दिइयो। साथै सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएको र आर्थिक वर्ष २०८१र०८२ का लागि पहिलो पटक सात प्रतिशत नगद लाभांश वितरण गरेको पनि सभामा जानकारी गराइएको छ।


