काठमाडौँ: मुद्दामा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको छ। वीरगञ्ज महानगरपालिका ६ स्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका ४९ जना पीडित बचतकर्ताको साढे २४ करोडभन्दा रकम अपचलन तथा ठगीसम्बन्धी सहकारी ठगी तथा संगठित अपराध कसुरमा अदालतले पुर्पक्षका लागि धरौटी माग गर्ने आदेश गरेको हो।
चुनावी सभाका लागि आइतबार जनकपुर पुगेका लामिछाने सोमबारको कार्यक्रमपछि मंगलबार बिहान अदालतमा उपस्थित भएका थिए। लामिछाने उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस भएको हो। थुनछेक बहसपछि न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले थुनाबाहिरबाट मुद्दाको पुर्पक्षका लागि लामिछानेसँग एक करोड धरौटी मागेको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए।
जिल्ला सहकारी कार्यालय पर्साले गत असार १ गते लामिछानेसहित २९ जना र गोरखा मिडिया प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)सहित १३ जनाविरुद्ध छुट्टाछुट्टै दुई अभियोगपत्र दायर गरेको थियो।
लामिछानेविरुद्ध पर्सासहित काठमाडौँ, चितवन, पोखरा र रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दा चलिरहेको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका लामिछाने बिगो बराबरको ३ करोड ७४ लाख रुपैयाँ धरौटी रकम बुझाएर गत पुस ४ गते रिहा भएका थिए।


