काठमाडौँ: सर्वोच्च अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मुद्दा फिर्ता लिनुको कारण सोध्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रूपन्देही र पर्सा जिल्लामा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को कसुर फिर्ता लिनेगरी अभियोगपत्र संशोधनको निर्णय गरेकी थिइन्। सोबमोजिम मुद्दा फिर्ताका लागि सम्बन्धित जिल्ला सरकारी कार्यालयमा पत्र पठाइएको थियो।
मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता भण्डारीको उक्त निर्णयविरुद्ध युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभाष रेग्मीलगायत रिट लिएर सर्वोच्च पुगेका थिए।


