काठमाडौँ: नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सोमबार आनन्दभूमि इभेन्ट्स काठमाडौँमा विशेष साधारण सभा सम्पन्न भएको हो।
सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ६२ करोड ५० लाख गर्ने प्रस्ताव पारित गरेको छ। यसअघि जारी तथा चुक्ता पूँजी ५० करोड थियो। त्यसैगरी संस्थापक र सर्वसाधरणको सेयर स्वामित्व ८०ः२० हुने गरी साविकको व्यवस्थामा पनि संशोधन पारित गरेको छ।
नेक्सजेनले लगानी कम्पनीको रुपमा निकट भविष्यमा सेयर सर्वसाधरणमा सेयर जारी गर्ने गरी नेपाल धितोपत्र बोर्डको शर्तहरू पूरा गर्न तयारी गरिरहेको छ। कम्पनी तीन वर्ष भन्दा बढी अवधि सञ्चालन भैसकेको, तीन वर्ष लगातार खुद मुनाफामा रहेको, कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेकोले विशेष साधारण सभाबाट तोकेको पुँजी पुर्याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
कम्पनीले विशेष साधारणसभाबाट प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन तथा सर्वसाधरणलाई सेयर जारी गर्ने शिलशिलामा आवश्यक तयारी र निर्णयको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।
सभामा एक सय भन्दा बढी सेयरधनीहरूको उपस्थिति रहेको थियो।


