काठमाडौँः बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारणसभापछि सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएको थियो। अध्यक्ष पद रिक्त भएपछि नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको थियो।
परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले बाँकी कार्यकालका लागि सर्वसम्मत रूपमा श्रेष्ठलाई अध्यक्षमा मनोनीत गरेको हो। श्रेष्ठ हाल हिमालयन बैंकका अध्यक्षसमेत हुन्। उनी नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका छन् र यसअघि सिबिफिन कार्यसमितिको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसैबीच, सोही दिन बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेकोमा सिबिफिन कार्यसमितिप्रति आभार व्यक्त गरे। उनले सिबिफिनका संस्थापक अध्यक्ष तथा वर्तमान प्रेसिडेन्ट इमेरिट्स पवनकुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले स्थापना र विकास गरेको सिबिफिनको विरासतलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा संस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रप्रति जनविश्वास अभिवृद्धि, वित्तीय स्थायित्व कायम गर्ने र दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र निर्माण गर्न सबै सरोकारवालासँग सहकार्य गर्ने कुरालाई आफ्नो प्रमुख प्राथमिकता हुने बताए।


