काठमाडौँ: कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक भएको छ। काठमाडौँको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित उक्त सङ्ग्रह कवि श्रवण मुकारुङ, ज्योति जंगल र बाबु त्रिपाठीले विमोचन गरेका हुन्।
कार्यक्रममा कवि मुकारुङले सङ्ग्रहको प्रशंसा गर्दै यसमा असाध्यै राम्रा कविताहरू भएको बताए। आफूले शीर्ष कवितासहितका केही कविता दोहोर्याइ दोहोर्याइ पढेको भन्दै उनले भने, ‘यस सङ्ग्रहमा एकदमै तागतिला कविता छन्। असाध्यै राम्रो कविताहरू, एकदमै पर्फेक्ट, जसलाई कुनै चलाइरहन जरुरी छैन।’
यस्तै कवि ज्योति जंगलले बजारमा आइरहेका भन्दा पृथक सङ्ग्रह ‘एकदिन मानिसहरू फर्किनेछन्’ भएको बताइन्। उनले भनिन्, ‘विम्बहरू एकदमै नवनिर्मित। प्रतीकलाई यसरी प्रयोग गर्नुभएको छ कि गम्नपर्ने। एकछिन बसेर गम्नुपर्नेगरीको भाषिक संरचना छ। कविता शब्दको हैन अर्थको संरचना हो। यी कविता त्यसमा सक्षम छन्।’
सरलतासहितको अभ्यन्तर अर्थ सङ्ग्रहका कविताहरूमा कविले सिर्जना गरेको उनको भनाइ थियो। ‘उहाँसँग तुलना गर्नेगरी अर्को कवि छैन। यो सङ्ग्रह सिंगै पृथक र बलियो छ,’ उनले भनिनन्।
कार्यक्रममा कवि राजु झल्लु प्रसाद र स्वीकृति शर्माले दोस्ताजका कविताहरू वाचन गरेका थिए।
दोस्ताजको यो पहिलो कविता संग्रह हो। सेलर नेपाल इन्फोटेकले प्रकाशन गरेको उक्त सङ्ग्रहको मूल्य ३५० रुपैयाँ रहेको छ।


