काठमाडौँ: यो कपडाले मलाई सुहाउँछ कि सुहाउँदैन? तयार हुने बेलामा हरेक मानिसको दिमागमा यही कुरा खेलिरहन्छ। उसलाई लाग्छ, एकपल्ट आफूलाई कपडामा सजिएको आफ्नै आँखाले हेर्न पाए, के लगाउने भनेर छान्न सजिलो हुने थियो। त्यसैका लागि मानिस ऐनाको सहारा लिन्छन्। लुगा वा कपडा किन्दा ट्रायल रुममा पसेर लगाउनु पर्ने आवश्यकता अझै पनि नेपालमा कायमै छ।
‘मिरागो’ यही आवश्यकतालाई अनावश्यक बनाउन सहयोगी एक एआइ प्लाटफर्म हो। एआइ टेक्नोलोजीमा केन्द्रित यस भर्चुअल ट्रायल रुम प्लाटफर्म मिरागोलाई प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो फोटो र आफूलाई मनपरेको लुगाको फोटो अथवा स्क्रिनसट प्लाटफर्ममा अपलोड गर्नु पर्ने हुन्छ। अपलोड भएको फोटो अनुसार एआइले स्वतः प्रयोगकर्ताको फोटोमा उक्त लुगा फिट गरेर नयाँ फोटो जेनेरेट गरिदिनेछ।
यसले प्रयोगकर्तालाई आफूलाई सुहाउने लुगा छान्न सहज हुनुका साथै अनलाईन सपिङबाट सामान किनेपछि निम्तिने निराशालाई अन्त्य गर्न सहयोग गर्नेछ। पुरानो तरिकाले अनलाइनमा मनपरेका लुगाहरु किनेर लगाएपछि मन नपर्ने, नसुहाउने समस्या एकैसाथ समाधान हुनुका साथै अब फर्मल, विवाह, पार्टी अथवा कुनै पनि प्रकारका पहिरन छान्न र आफ्नो स्टायल पहिचान गर्न मिरागोले सहयोग गर्ने प्लाटफर्म निर्माणकर्ताहरुको विश्वास छ।
नेपालमै निर्मित यस भर्चुअल एआइ प्लाटफर्म केवल नेपालका लागि मात्र नभएर संसारकै लागि एक उपयोगी साधन बन्ने विशेषता राख्ने कम्पनीको दाबी छ। विद्यार्थी, कर्परेट कर्मचारी, कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरका साथसाथै आम मानिसलाई लक्षित यस प्लाटफर्मले ड्रेसिङलाई थप सहज र रोचक बनाउने विश्वास कम्पनीको छ।
एप प्ले स्टोर, एप स्टोर दुवैबाट डाउनलोड गरेर तथा वेबसाइटमार्फत पनि प्रयोग गर्न सकिन्छ।


