काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। आज (सोमबार) सुनको मूल्य पाँच हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (आइतबार) छापावाला सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। आइतबार प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ६ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर प्रति औंस पाँच हजार ७४ डलर पुगेको छ। अमेरिकाले चीनसँग व्यापारिक सम्झौता गरे १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएपछि सुनमा लगानी बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।


