काठमाडौँः सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई सीईओमा नियुक्त गरिएको हो।
बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव सँगालेका आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकसँग आबद्ध रहँदै आएका छन्। पदभार ग्रहण गर्नुअघि उनी सानिमा बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
आफ्नो लामो सेवाकालका दौरान उनले बैंकका दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गर्दै व्यवस्थापन, रणनीति तथा सञ्चालन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।


