काठमाडौँः नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्यले पनि नयाँ उचाई छोएको छ। मंगलबार तोलामा ६ हजार ८७० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर ७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सामान्यतया विवाहको मौसममा सुनको माग बढ्ने भए पनि यस वर्ष अत्यधिक मूल्यवृद्धिका कारण बजार सुनसान देखिएको व्यवसायीहरूको भनाइ छ। नयाँ सुन खरिद गर्न नसक्ने अवस्था आएपछि धेरै ग्राहकले पुरानै सुन प्रयोग गरी गहना बनाउने विकल्प रोजेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार हाल बजारमा नयाँ गहना खरिद गर्ने ग्राहक शून्य जस्तै छन्।
“आम्दानी भने बढेको छैन, तर सुनको मूल्य अस्वाभाविक रूपमा महँगो भएको छ,” उनी भन्छन्, “त्यसैले विवाहका लागि पनि धेरैले आफ्नै सुन ल्याएर नयाँ डिजाइनका गहना बनाउने गरेका छन्।”
उनका अनुसार सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय कारणहरू प्रमुख छन्। महासंघका उपाध्यक्ष दिएसरत्न शाक्यका अनुसार विश्वभर बढ्दो भू–राजनीतिक तनाव, शक्तिशाली राष्ट्रहरूबीचको द्वन्द्व तथा युद्धको आशंकाका कारण लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित भएका छन्। यस्तो अवस्थामा सुन सुरक्षित लगानीको रूपमा लिइने भएकाले माग बढ्दै जाँदा मूल्य उकालो लागेको हो।
यदि हालको अवस्था यथावत् रहे आगामी २–३ महिनाभित्र सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार रुपैयाँ नजिक पुग्न सक्ने शाक्यको अनुमान छ। यद्यपि मूल्य अत्यधिक बढिसकेकाले भविष्यमा करेक्सन आउन सक्ने सम्भावनालाई नकार्न नसकिने भन्दै उनले लगानीकर्तालाई सचेत रहन आग्रह गरेका छन्।


