काठमाडौँः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २.२७ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।
यद्यपि, बैंकको खुद नाफा भने उल्लेखनीय रूपमा घटेको छ। दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ६६ करोड १८ लाख रुपैयाँको तुलनामा ४५.७७ प्रतिशतले कम हो। सकारात्मक पक्षमा, बैंकले आफ्नो कस्ट अफ फण्ड घटाउन सफल भएको छ। अघिल्लो आवमा ५.२७ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर चालु आवको दोस्रो त्रैमाससम्म ३.७८ प्रतिशतमा सीमित भएको छ। बैंकको पूँजी पर्याप्तता अनुपात १२.४३ प्रतिशत कायम रहेको छ।
यस अवधिसम्म बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ। तर, वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ।
अन्य वित्तीय सूचकहरूअनुसार बैंकको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५८४ रुपैयाँ तथा तरलता अनुपात २६.४३ प्रतिशत रहेको छ।


