काठमाडौँ: एनसेल आजियाटा लिमिटेडले सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ २७००१ः२०२२ (आईएसएमएस) र आईएसओ २७७०१ः२०१९ (पिआईएमएस) को मान्यता सफलतापूर्वक नवीकरण गराएको छ।
यस नवीकरणसँगै एनसेलले ग्राहकको सूचना सुरक्षा र डेटा गोपनीयतामा आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ। गत वर्ष यी दुवै मान्यता प्राप्त गर्ने एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो। मान्यता नवीकरणले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ग्राहकको व्यक्तिगत तथा संवेदनशील जानकारी सुरक्षित राख्दै आएको पुष्टि गर्दछ।
नवीकरण प्रक्रियाअन्तर्गत आईएसओद्वारा तोकिएको स्वतन्त्र निकायमार्फत सर्भेलेन्स अडिट गरिएको थियो। अडिटका क्रममा एनसेलका सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आईएसओ मापदण्डअनुसार पूर्ण रूपमा कार्यान्वयनमा रहेको पुष्टि भएको छ। यी मान्यताहरू आगामी एक वर्षसम्म मान्य रहनेछन्। नवीकरण भएका मान्यताहरूको दायराभित्र ग्राहक डेटा सेन्टर, ग्राहक सेवा तथा आईटी सर्भिसेज रहेका छन्। यसले एनसेलले गोपनीयता सुनिश्चित गर्न उच्चतम अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाएको स्पष्ट गर्दछ।
आईएसओ २७००१ मान्यताले एनसेलले ग्राहक तथा साझेदारका डाटालाई साइबर आक्रमण, सूचना चुहावट तथा अनधिकृत पहुँचबाट जोगाउन प्रभावकारी सुरक्षा उपायहरू कार्यान्वयन गरेको सुनिश्चित गर्दछ। त्यसैगरी आईएसओ २७७०१ मान्यताले व्यक्तिगत डेटा सुरक्षा, उल्लंघनको जोखिम न्यूनीकरण तथा गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको पालना भएको प्रमाणित गर्दछ।
यी अन्तर्राष्ट्रिय मान्यताहरूले ग्राहकहरूलाई आफ्ना व्यक्तिगत र संवेदनशील जानकारी एनसेलमा सुरक्षित रहेको भरोसा दिलाउनुका साथै कम्पनीको पारदर्शिता, जवाफदेहिता र डेटा सुरक्षालाई व्यवसायको केन्द्रमा राखिएको सन्देश दिन्छन्। एनसेलका प्रणालीहरू सम्भावित अवरोध न्यूनिकरण, जोखिम व्यवस्थापन तथा व्यवसाय निरन्तरता सुनिश्चित गर्ने गरी डिजाइन गरिएका छन्। कम्पनीले आफ्ना सबै सेवा र प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आएको जनाएको छ।


