काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १८ हजार ८ सय रुपैयाँ घटेर ३ लाख रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा ७ हजार ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघको जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री दबाब (सेलिङ प्रेसर) बढेपछि मूल्य घटेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। गत शुक्रबार मात्रै पाँच सय टन सुन बिक्री भएपछि यसको असर बजारमा परेको जानकारी पाएको उनले सुनाए।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकको नीति भन्दा पनि बजारमा सुन बिक्रीको दबाबले गर्दा मूल्यमा ह्रास आएको उनको भनाई छ। आइतबार सुनको मूल्य प्रतिऔंस चार हजार आठ सय ९१ डलरमा झरेको छ। यसअघि पाँच हजार पाँच सय ५१ डलरसम्म पुगेको थियो।


