काठमाडौँ: कला साहित्यमा छलफलका हेतु थालनी गरिएको ‘अन्तर–विधा’मार्फत् रिमा केसीको नवीनतम कविता संग्रह बगावतनामामाथि शनिबार काठमाडौँमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तर्क्रिया कार्यक्रममा अभियन्ता तथा लेखक राधा पौडेल, प्राध्यापक डा हेम भण्डारी र कवि लक्ष्मी रुम्बा सहभागी थिए भने कार्यक्रमको सहजीकरण लेखक/समालोचक गणेश खनियाले गरेका थिए।
बगातनामममा प्रेम र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषयहरु भएको पौडेलले बताइन्। उनले भनिन्, ‘यहाँ पोतिएको छ चिया मजदुर जस्ता अगोचर दुःखीजनका उहापोह। हार्दिक प्रेमको अपरिमित आह्वान। विद्रोहको दुन्दुभि। सामाजिक विभेदका अनेक कुव्यवस्थाविरुद्दका ललकार। अन्य नरमकरम भावको प्रकटीकरण। अध्ययन, अवलोकन, अनुभूति र अनुशीलनका तहगत माध्यमबाट खारिएर अन्तस्करणबाट कविता जन्माएकी छन् उनले। यस अर्थमा हाम्रा समाजका अनेक परिघटनाका साक्षी कविताझैं लाग्छन्। साथै विद्यमान निकृष्टताविद्धको सम्झौताहीन प्रहार पनि हो यो संग्रह।’
कविताले समाजमा रहेका विभेद, क्रूरताको विरोध मात्र नगरी विभेदरहित समाजको लागि अपील पनि गर्ने उनको भनाइ थियो।
प्रध्यापक भण्डारीको हेराइमा यी कविताहरुले परम्परागत लेखन मान्यतालाई भत्काएर प्रतिरोधलाई कविताको नयाँ शैली र सौन्दर्यका रुपमा स्थापित गरेको बताए। ‘परम्परागत व्याकरण नै भत्काइदिएका छन् यी कविताले। दोहोरो चरित्रमा बाँचेका, विषाक्त पितृसत्ता तथा सामाजिक विभेदका वाहकलाई कविताबाटै चुनौति दिएकी छन् कवि रिमाले। उनको अभिव्यक्ति साधारण छ तर व्यंग र कटाक्ष मिश्रित यी कविता वडो असरदार छन्। बगावतनामा शीर्षकको सार्थकता राम्ररी झल्कन्छ,’ उनले भने।
कवि रुम्वाले बगावतनामाका कविताले तल्लो तहमा रहेका तथा वर्गीय उत्पीडनको पीधमा रहेकाहरूप्रति देखाएको समभाव कम अत्यन्तै गाढा भएको बताइन्। ‘बारम्वार पढ्दा पनि कम हुँदैन। सामाजिक घटनाको सूक्ष्म अवलोकनमा आफ्नै अनुभूति मिसाएर लेख्छिन् कवि रिमा। आक्रोश त पोखिएका छन् यहाँ तर अतिरन्जित लाग्दैन। लोभलाग्दो लाग्छ उनको साधारण शब्द चयन तर सशक्त अभिव्यक्ति,’ उनले भनिन्।


