काठमाडौं। गत असार २४ गते हिमताल फुटेर स्रोत नदी लेहेन्देखोलामा भीषण बाढी आएपछि १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति भयो। चीनको तिब्बतबाट बग्ने लेहेन्दे खोलामा हिमताल विष्फोटनबाट रसुवागढी आयोजनाको बाँध स्थलको इन्टेक, डाइभर्सन वेयरलगायत बाँध स्थलका अधिकांश सिभिल संरचना र मेशिनहरूमा ठूलो क्षति पुर्यायो।
मर्मतसम्भारपछि पुसको पहिलो सातादेखि आयोजनाको दोस्रो युनिट सञ्चालनमा आएको हो। तेस्रो युनिट सञ्चालन गरेर वर्खामा पूर्ण क्षमतामा आयोजना सञ्चालनमा आउने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सूचना अधिकारी नरनाथ न्यौपानेले बताए।
बाढीबाट क्षतिग्रस्त आयोजना सञ्चालनका लागि अस्थायी बाँध (कफर ड्याम) बनिसकेको छ। तीनवटै युनिट सञ्चालनमा ल्याएर बर्खामा १११ मेगावाट बिजुली उत्पादन गर्ने कार्यतालिका तयार गरिएको छ।
क्षति भएका संरचना तथा मेसिन उपकरणहरूको प्रारम्भिक मूल्यांकन गरी बिमक कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा रसुवागढीले एक अर्ब ७५ करोड रूपैयाँ बीमा दाबी पेस गरेको लामो समय बितिसकेको छ।
तर, अहिलेसम्म हिमालयन एभरेष्टले आठ करोड रुपैयाँ मात्र भुक्तानी गरेको न्यौपानेले बताए। “हिमालयन एभरेष्टसँग न्यूनतम अग्रिम ५० करोड रुपैयाँ मागेका थियौं, आठ करोड रुपैयाँ मात्र दियो” उनले नेपाल क्लिक्ससँग भने “बिमा कम्पनीले यति दाबी भुक्तानी हुन्छ भनेको छैन्, ढिलाइ मात्र गरिरहेको छ।”
रसुवागढी आयोजनाको दोस्रो युनिट पनि चल्यो, ४४ मेगावाट बिजुली उत्पादन
नियामक नेपाल बिमा प्राधिकरणलेसमेत दाबी भुक्तानी छिटो गर्न निर्देशन दिँदै आएको छ। तर, कम्पनीहरुले दिन ढिलाइ गरिरहेका छन्।क्षतिको दाबी रकम नपाउँदा आयोजना पुनर्निमाणको काम प्रभावित हुने संभावना बढेको छ।
रसुवागढी जलविद्युत आयोजनाबाट २०८१ पुस १६ देखि व्यापारीक विद्युत उत्पादन सुरु भएको हो।
बाढीले हाइड्रोमेकानिकल उपकरणहरू (ग्याट्री क्रेनहरू) बगाउनुका साथै अन्य हाइड्रोमेकानिकल गेट तथा उपकरणहरूमा क्षति भएको थियो। बाँधस्थल जाने स्थायी पुलको जग र संरचनाहरू लेदोले पुरिएकोमा आवास भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
रसुवागढी जलविद्युत आयोजनाको एउटा युनिट मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
उक्त आवास क्षेत्रमा पार्किङमा रहेका सवारी साधनहरू मध्ये ३ वटा बगाएको र ६ वटा बाढीले पुरेको थियो। विद्युतगृह जाने स्थायी पुलको जगमा क्षति, टेलरेसबाट लेदोसहितको बाढी पसी विद्युतगृहको एआइभी फ्लोर तथा टर्वाइन फ्लोरमा रहेका इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल उपकरणहरू डुबानमा परेकोमा आवास तथा गाडीको बीमा दाबी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको थियो।
स्टोरमासमेत क्षति भएको थियो। बाढीले जलविद्युत केन्द्रको बाँध स्थल, टेलरेस, सर्ज साफ्ट, आवास क्याम्प जाने पहुँच सडकहरूको अधिकांश स्थानमा कटान गरी पहुँचमार्ग पूर्णरूपमा अवरुद्ध भएकोमा जलविद्युत केन्द्रदेखि बाँधस्थल, सर्ज ट्यांक तथा टेलरेस सम्मको ११ केभी विद्युत प्रसारण लाइन, अप्टिकल फाइबर लाइन, टेलरेसमा रहेको टान्सफर्मर तथा पोलहरू बगाएको थियो।
आयोजनाले गत असोजसम्म सञ्चय कोषलाई तिर्नुपर्ने साँवा रकम १० अर्ब १६ करोड २१ लाख रूपैयाँ छ। उक्त अवधिको ब्याज ६ अर्ब ६३ करोड ३५ लाख ६५ हजार पुँजीकृत भई कुल ऋण १६ अर्ब ७९ करोड ५६ लाख ६५ हजार रूपैयाँ कायम भएको कम्पनीले जनाएको छ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ। स्वपुँजी अन्तर्गत ५१ प्रतिशत शेयर संस्थापक समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयर रहेको छ। आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भइसकेकाले कम्पनीले ऋण तिर्न सुरु गरी ९ वर्ष (३६ किस्ता) मा सञ्चय कोषसँगको सम्पूर्ण ऋण चुक्ता गर्ने योजनाअनुसार पहिलो किस्ता २०८१ को चैत मसान्तमा ६५ करोड १४ लाख ६० हजार रूपैयाँ भुक्तानी गरिएको छ।
आयोजना निर्माणका बखत पनि विविध काबुबाहिरको परिस्थिति सिर्जना भई तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सुरु अनुमानको तुलनामा निर्माण लागत वृद्धि भएको थियो।
आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ। यसबाट आयोजना निर्माण लागतको कर्जाः स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई ७१ः२९ प्रतिशत कायम भएको छ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुन्छ। बिजुली बेचेर कम्पनीले वार्षिक तीन अर्ब २५ करोड रूपैयाँ आम्दानी गर्छ।
