काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले तराई लिमिटेडलेको करसम्बन्धी विवाद सकिएको बताएको छ। कम्पनीले सरकारलाई ७० करोड रुपैयाँ कर बुझाएको छ। यससँगै करसम्बन्धी विवाद टुंगिएको कम्पनीले जनाएको छ।
बोटलर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय चनवसप्पा कोनाले योजनाबद्ध तथा विचारपूर्वक कर मूल्यांकन तथा कर सेटलमेन्ट प्रक्रिया सम्पन्न गरेको जानकारी दिए। बोटलर्स नेपाल तराईले ७० करोड रुपैयाँ कर खर्च भएको हालै सम्पन्न ३९ औं वार्षिक साधारणसभामा सेयरधनीलाई जानकारी गराएको छ।
कर चुक्ता गरिएको तथा सम्भावित दायित्वसम्बन्धी सेयरधनीको जिज्ञासामा कम्पनी सचिव विश्वप्रकाश पौडेलले कर सेटलमेन्ट मूल रकममा मात्र गरिएको र त्यसबाहेक हाल कुनै पनि अतिरिक्त वा सम्भावित कर दायित्व बाँकी नरहेको बताएका छन्। बजारमा प्रतिस्पर्धात्मक रूपमा टिकिरहन कम्पनीले नयाँ नयाँ उत्पादनहरू ल्याउने योजना रहेको तथा त्यसमा लगानी गरिरहेको जानकारी दिए।
ठूलो रकम कर बुझाउनुपर्दा सेयरधनीलाई लाभांश दिन नसकेको उनले बताएका छन्। कम्पनीको कार्यसम्पादनमा सुधार भई समग्र आर्थिक वातावरण अनुकूल रहेमा आगामी वर्षदेखि सेयरधनीलाई लाभांश वितरणबारे सञ्चालक समितिले विचार गर्ने आश्वासन दिएका छन्।
सीइओ कोनालेले कार्बोनेटेड पेय पदार्थमा मात्र सीमित नभई कम्पनीसँग विविध तथा सशक्त उत्पादन पोर्टफोलियो रहेको जानकारी गराएका छन्। उनले नेपाल बजारका लागि उपयुक्त ठहरिने ब्रान्डहरू पहिचान भएसँगै तिनलाई बजारमा ल्याइने जानकारी दिएका छन्।
कोकाकोला उत्पादक बोटलर्स नेपालले शेयरधनीलाई किन दिएन लाभांश?
यो वर्ष बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराईले सेयरधनीलाई लाभांश दिएनन्। आर्थिक वर्ष २०८०–८१ मा बोटलर्स नेपाल तराईले शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश दिएको थियो। यस्तै आर्थिक वर्ष २०७९–८० मा ६० प्रतिशत नगद लाभांश दिएको थियो।
शेयरधनीलाई निरन्तर राम्रो प्रतिफल दिएको कम्पनीले यस वर्ष भने दिएन। यस्तै बोटलर्स नेपालले भने तीन वर्षदेखि शेयरधनीलाई लाभांश दिएको छैन।
गत आर्थिक वर्षमा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेड एक अर्ब ७५ करोड रुपैयाँ नोक्सानमा गएका कारण लाभांश नदिएका हुन्।आर्थिक वर्ष ०७१/०७२ को विवादित करको नयाँ मूल्यांकन भएपछि ७८ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोटलर्स नेपालमा ९८ प्रतिशत शेयर स्वामित्व विदेशी लगानीकर्ताको छ। त्यसमध्ये ७६ प्रतिशत कोकाकोला साउथ वेस्ट होल्डिङस लिमिडको र बाँकी २२ प्रतिशत स्वामित्व गोरखा ब्रुअरी प्रालिको छ।
बोटलर्स तराईमा माउ कम्पनी बोटलर्स नेपालको ९१ प्रतिशत र बाँकी नौ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। बोटलर्सले कोकाकोला, स्प्राइट, फेन्टा र किन्ले ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएका छ।


