काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लाभांश वितरण गर्दा सेयरधनीलाई स्पष्ट जानकारी दिन सबै सूचीकृत कम्पनीलाई निर्देशन दिएको छ। नेप्सेका अनुसार अब धितोपत्र निष्कासन गर्ने कम्पनीहरूले लाभांश, ब्याजलगायतका लाभ वितरणसम्बन्धी विवरण इमेल, एसएमएस वा अन्य विद्युतीय माध्यममार्फत सेयरधनीलाई जानकारी गराउनुपर्नेछ।
नेप्सेले जारी गरेको निर्देशनअनुसार साधारण सेयर वा म्युचुअल फण्डको हकमा स्टक सिम्बोल, सम्बन्धित आर्थिक वर्ष र लाभांश दर (प्रतिशत) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। त्यस्तै, ऋणपत्र वा डिबेञ्चरका हकमा स्टक सिम्बोल, आर्थिक वर्ष तथा ब्याज दर प्रतिशत अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
नेप्सेले शुक्रबार सबै सूचीकृत कम्पनी तथा सेयर रजिस्ट्रारलाई यो निर्देशन पठाएको हो।


