काठमाडौँ: साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेर दुई हजार ६७२.३९ अंकमा बजार बन्द भएको छ।
आज कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको २ करोड ६७ लाख कित्ता सेयर किनबेच भएको छ।
यसदिन कारोबारमा आएका २१२ कम्पनीको सेयरमूल्य घटेकोमा ४२ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतले नाफा कमाएका छन् भने त्यसपछि रिदी पावर कम्पनीको सेयरमूल्य ९.११ प्रतिशतले बढेको छ। मायाखोला हाइड्रोपारको सेयर भने सर्वाधिक ५.४० प्रतिशतले घटेको छ।
यसदिन रिदी पावर कम्पनीको सेयर सर्वाधिक किनबेच भएको छ। उक्त कम्पनीको १७ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।


