काठमाडौं। पछिल्लो समय सेयर बजारमा ठूलो उतारचढाव देखिएको छैन। यद्यपि, सेयर बजार सूचक स्थिर जस्तै देखिए पनि कारोबार रकममा उल्लेखनीय सुधार देखिएको छ।
जसलाई बजारका लागि सकारात्मक संकेतका रूपमा लिन सकिन्छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार पछिल्लो दुई हप्ताको अवधिमा मात्रै एक खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
माघ ११ गतेदेखि माघ २६ गतेसम्मको अवधिमा नेप्से केही अंकले घटबढ भए पनि लगानीकर्ताको सक्रियता घटेको छैन। विशेष गरी कारोबार रकमले बजारमा अझै पनि पैसा घुमिरहेको संकेत गर्छ। जसले लगानीकर्ताको विश्वास पूर्ण रूपमा हराइसकेको छैन भन्ने देखाएको छ।
अघिल्लो साता माघ ११ गतेदेखि १५ गतेसम्म नेप्से समग्रमा ०.५५ अंकले घटेर बन्द भएको थियो। उक्त साता पाँचै दिन कारोबार भएको बजारमा दुई दिन नेप्से बढेको थियो भने तीन दिन घटेको थियो। यद्यपि, अंकको हिसाबले सामान्य गिरावट देखिए पनि साताभरि ६८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुनु सकारात्मक पक्ष हो।
त्यसमध्ये आइतबार १३ अर्ब ४९ करोड र सोमबार १६ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो। जुन पछिल्लो छ महिनाकै उच्च कारोबारमध्ये पर्छ। मंगलबार १३ अर्ब ९५ करोड, बुधबार ११ अर्ब ३९ करोड र बिहीबार १४ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो। यसले बजारमा तरलता र लगानीकर्ताको सहभागिता बलियो रहेको संकेत गर्छ।
त्यसपछि गत साता भने नेप्से ५.३५ अंकले घटेर बन्द भयो। पाँच दिन कारोबार भएको उक्त साता दुई दिन बजार बढेको भए पनि तीन दिन घटेको थियो। सो साता कुल ३५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।
दैनिक कारोबार औसत हेर्दा अघिल्लो साताको तुलनामा केही कमी देखिए पनि बजार पूर्ण रूपमा सुस्त भने देखिएको छैन। उक्त साता आइतबार आठ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार आठ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
त्यस्तै, मंगलबार आठ अर्ब ५७ करोड, बुधबार सात अर्ब ४५ करोड र बिहिबार ११ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
हाल चलिरहेको यो साता भने दुई दिन मात्रै कारोबार भएको छ भने तीन दिन कारोबार हुन बाँकी छ। पहिलो कारोबार दिन आइतबार ११ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार १० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। साताको सुरुवातमै दोहोरो अंकको कारोबार हुनु बजारका लागि सकारात्मक मानिन्छ।
नेपाल ब्रोकर्स संघका पूर्वअध्यक्ष भरत रानाभाटका अनुसार हाल कारोबार रकम बढ्नुको मुख्य कारण बाइ–सेल (किनबेच) सुविधाको प्रभाव हो। “बेचेको सेयरको पैसा दुई दिनमै खातामा आउन थालेपछि कारोबार केही बढेको हो,” उनले भने, “तर यो अवस्थामा जति कारोबार बढ्नुपर्ने हो, त्यति भने बढेको छैन।”
उनका अनुसार अहिलेको राजनीतिक अवस्था र सामाजिक सञ्जालमा आउने सूचनाले पनि बजारलाई प्रभावित गरिरहेको छ। “अहिले लगानीकर्ताको समाजिक सञ्जालमा आएको स्टाटसको भरमा सेयर किनबेच हुने अवस्था छ,” उनले भने। यद्यपि, राजनीतिक स्थायित्व र नीतिगत स्पष्टता आएमा कारोबार रकम अझै बढ्ने र बजारले राम्रो गति लिने उनको भनाइ छ।
समग्रमा हेर्दा नेप्से अंकमा ठूलो सुधार नदेखिए पनि कारोबार रकममा देखिएको निरन्तरता र दैनिक १० अर्ब रुपैयाँ भन्दा माथिको कारोबारले बजार क्रमिक रूपमा सन्तुलनतर्फ अघि बढिरहेको संकेत गरेको छ। आगामी दिनमा कारोबार रकम बढ्दै गए बजारले सकारात्मक मोड लिने अपेक्षा गरिएको छ।


