काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा वृद्धिदर घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा २ खर्ब ६५ अर्ब ५६ करोड कर्जा प्रवाह भएकोमा यस वर्षको अर्धवार्षिक समीक्षासम्ममा यस्तो कर्जा १ खर्ब ९७ अर्ब ४७ करोडमा सीमित हुन पुगेको छ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जा ३.६ प्रतिशतले बढेर रू.५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.२ प्रतिशतले बढेर रू. ५३ खर्ब ३९ अर्ब ५२ करोड पुगेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रा प्रदाय ३.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ पुस मसान्तमा विस्तृत मुद्रा प्रदाय १४.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू. ४ खर्ब १७ अर्ब ४८ करोड (५.७ प्रतिशत) ले बढेर रू. ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रू. २ खर्ब ३९ अर्व ६ करोड (३.७ प्रतिशत) ले बढेर रू. ६६ खर्ब ९१ अर्ब ४४ करोड पुगेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ। २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत र अन्य ९० प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल राष्ट्र बैंकबाट निक्षेप संकलन बोलकबोलमार्फत रू. १४ खर्ब २५ अर्ब ५० करोड, स्थायी निक्षेप सुविधामार्फत रू. २७० खर्ब ८६ अर्ब ९० करोड र नेपाल राष्ट्र बैंक वण्डमार्फत रू. २०० अर्ब गरी कुल रू. २८७ खर्ब १२ अर्ब ४० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ।
त्यसैगरी, ओभरनाइट तरलता सुविधामार्फत रू.१२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद रू. २८६ खर्ब ९९ अर्ब ९० करोड बराबरको तरलता प्रशोचन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक- पटक गरी खुद रू. १३९ खर्ब ९९ अर्व ८० करोड तरलता प्रशोचन भएको थियो।
२०८१ पुसमा ९१ दिने ट्रेजरी बिलको भारित औसत व्याजदर २.८१ प्रतिशत रहेकोमा २०८२ पुसमा २.३५ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैड कारोबारको भारित औसत ब्याजदर २०८१ पुसमा ३.०० प्रतिशत रहेकोमा २०८२ पुसमा यस्तो ब्याजदर २.७५ प्रतिशत रहेको छ।
२०८२ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर ३.५६ प्रतिशत, विकास बैंकहरूको ४.०६ प्रतिशत र वित्त कम्पनीहरूको ५.१७ प्रतिशत रहेको छ। २०८१ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरूको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.६६ प्रतिशत रहेको थियो।
२०८२ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर ७.१२ प्रतिशत, विकास बैंकहरूको ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.७३ प्रतिशत रहेको छ। २०८१ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरूको १०.१० प्रतिशत र वित्त कम्पनीहरूको ११.१० प्रतिशत रहेको थियो।


