काठमाडौँ: नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा आयोजित ४५औँ नेसनल म्यानेजमेन्ट कन्भेसन २०२६ मा ‘म्यानेजर अफ दि इयर २०२५’ अवार्डबाट सम्मानित गरिएको छ ।
प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याउँदै आएको योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, आरपीएस, एनपीएस, कनेक्टआईपीएस, कर्पोरेट पे, नेपाल पे क्युआर, नेपाल पे कार्ड, ईएफटी स्वीच, एनपीआई र एनपीएलएक्स लगायतका १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधारहरूले डिजिटल अर्थतन्त्रमा पारेको प्रभावको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो।
सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ्गबाट सुरु गरी एनसीएचएललाई नेपालको भुक्तानी पूर्वाधारको मेरुडण्डको रुपमा स्थापित गर्न सफल भएका छन्।
नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष प्रदान गर्ने गरेको म्यानेजर अफ दि इयर अवार्ड व्यवस्थापन क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरू मध्येबाट छनोट गरी सम्मानित गर्दै आएको छ।
यसैगरी अर्थविद् तथा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मनित गरिएको छ।


