काठमाडौँः वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा ब्याजदर घट्ने क्रम फागुन महिनामा पनि निरन्तर देखिएको छ। सार्वजनिक नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर करिब ४.५७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो महिना करिब ४.६८ प्रतिशत थियो।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ११ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता उच्च रहेका कारण ब्याजदरमा दबाब परेको विश्लेषण गरिएको छ।
कुन बैंकले कति तोके ब्याजदर?
५ प्रतिशत वा सोभन्दा माथि (व्यक्तिगततर्फ)
नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा उच्च ५.१ प्रतिशत ब्याजदर कायम गरेको छ। एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक र हिमालयन बैंकले अधिकतम ५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।
४.५ देखि ४.७५ प्रतिशतसम्म
ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ४.७५ प्रतिशतमा झारेको छ (अघिल्लो महिना ५.५ प्रतिशत थियो)। प्रभु बैंकले ४.५५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, सिटिजन्स बैंकले ४.५ प्रतिशत, सानिमा बैंकले ४.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत ब्याजदर तोकेका छन्। कुमारी बैंकले ४.४३ प्रतिशत निर्धारण गरेको छ।ं
४.२५ प्रतिशत दर तोक्ने बैंकहरू
एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ
संस्थागत निक्षेपमा अधिकांश बैंकले ३ देखि ४ प्रतिशतको दायरामा ब्याजदर तोकेका छन्। हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबी बैंकले अधिकतम ४ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।
अन्य धेरै बैंकहरू २.७५ प्रतिशतदेखि ३.५ प्रतिशतको बीचमा सीमित छन्।
केही बैंकहरूले व्यक्तिगततर्फ दर घटाए पनि संस्थागततर्फ भने स्थिर राखेका छन्। समग्रमा हेर्दा फागुन महिनामा ब्याजदर घट्ने प्रवृत्ति देखिए पनि अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन्।
बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा माग सुस्त रहनु नै हाल ब्याजदर घट्नुको मुख्य कारण मानिएको छ।


