काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईपीओ निष्कासनपछि सूचीकरण हुने कम्पनीहरूको पहिलो कारोबारका लागि तोकिने ओपनिङ रेन्ज सम्बन्धी नियममा फेस भ्यालु (अंकित मूल्य) को सूत्र लागू गरेको छ। नेप्सेको सञ्चालक समितिको बैठकले यस सम्बन्धी निर्णय गरेको हो। यो सूत्र अर्को बैठकले निर्णय नगरेसम्म लागू रहने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्।
यसअघि जुनसुकै कम्पनीलाई नेटवर्थको तीन गुणासम्मको रेन्ज दिने व्यवस्था रहेकोमा अब भने पोजेटिभ नेटवर्थ भएका कम्पनीहरूको हकमा अंकित मूल्यको तीन गुणासम्म र नेगेटिभ नेटवर्थ भएका कम्पनीहरूको हकमा नेटवर्थको तीन गुणासम्मको रेन्ज प्रदान हुने भएको छ। ओपनिङ रेन्ज नेप्सेले समय–समयमा तोक्न सक्ने विनियमावलीको व्यवस्था अनुरूप नेप्सेले ओपनिङ रेन्जबारे नयाँ निर्णय गरेको हो।
पोजेटिभ नेटवर्थ भएका कम्पनीको हकमा सेयरको अंकित मूल्य १०० रुपैयाँ भएमा सो कम्पनीले ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउनेछ। १०० रुपैयाँ अंकित मूल्य भएका कम्पनीको नेटवर्थ १०० वा सोभन्दा माथि भए कम्पनीले ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउनेछन्। नेटवर्थ १००, ६०० वा जतिसुकै भए पनि यो सूत्र लागू रहँदासम्म ओपनिङ रेन्ज ३०० रुपैयाँसम्म नै रहने पराजुलीले बताए। “नेटवर्थ जति नै भए पनि फेस भ्यालुको सूत्र लागू हुँदासम्म ओपनिङ रेन्ज ३०० भन्दा माथि जाँदैन,” उनले भने।
नयाँ व्यवस्थाअनुसार, शुक्रबार सूचीकरण भएका रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको पहिलो कारोबारका लागि नेप्सेले १००–३०० रुपैयाँको ओपनिङ रेन्ज तोकेको छ।


