काठमाडौँः होटल फरेस्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँडको मिति तय भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले फागुन ४ गते सोमबार (भोलि) बिहान सेयर बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरेको थियो। अन्तिम दिनसम्ममा २३ लाख ३० हजार ८६ आवेदनकर्ताबाट २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ६० हजार ५ सय कित्ताका लागि आवेदन परेको थियो।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर भने निष्काशन तथा बाँडफाँड गरिसकिएको छ। आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई अनुमति प्रदान गरेको थियो।


