काठमाडौँः नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा संकेत (करेन्सी सिम्बोल) निर्धारण गरी प्रयोगमा ल्याउने तयारी गरेको छ। राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी मस्यौदामा उक्त विषय सम्बन्धी प्रावधान समावेश गरिएको जनाइएको छ। प्रस्तावित व्यवस्था लागू भएमा नेपाली मुद्राले अन्तर्राष्ट्रिय अभ्यासअनुसार औपचारिक पहिचान पाउने अपेक्षा गरिएको छ।
अर्थविद्हरूका अनुसार नेपाली रुपैयाँको आधिकारिक संकेत लागू भएमा डिजिटल भुक्तानी प्रणाली विस्तारमा टेवा पुग्नुका साथै अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्राको प्रयोग र पहिचान सहज हुने अपेक्षा गरिएको छ। अर्थविद् चन्द्रमणी अधिकारीका अनुसार मस्यौदामा डिजिटल बैंक र डिजिटल मुद्रासम्बन्धी प्रावधान समावेश भएकाले मुद्रा संकेत झन् आवश्यक भएको हो। उनका अनुसार यस्तो संकेतले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै डिजिटल करेन्सी व्यवस्थापनमा एकरूपता ल्याउन सहयोग पुर्याउनेछ। उनले भने, ‘मुद्रा संकेत जरुरी छ, किनकी यसले नोट मुद्रा हराउने सम्भावना कम हुन्छ । यसले डिजिटल करेन्सीलाई व्यवस्थापन गर्न सहज हुन्छ।’
अन्य देशहरूमा जस्तै मुद्राको विशिष्ट चिन्हले आर्थिक कारोबार, डिजिटल भुक्तानी तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजता ल्याउने भएकाले नेपालमा पनि यस्तो संकेत आवश्यक रहेको निष्कर्ष निकालिएको हो। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा समेत नेपाली मुद्राका लागि छुट्टै चिन्ह विकास गर्नुपर्ने उल्लेख गरिएको छ।
यसैबीच अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयका अनुसार केन्द्रीय बैंकको भूमिका अन्तर्राष्ट्रिय अभ्यासअनुरूप बनाउने, नियमन क्षमता सुदृढ गर्ने तथा संस्थागत स्वायत्तता बलियो पार्ने उद्देश्यले संशोधन मस्यौदा तयार पारिएको हो। मस्यौदामा सर्वसाधारण, वित्तीय क्षेत्रका सरोकारवाला तथा विज्ञहरूबाट सुझाव संकलन भइरहेको र प्राप्त सुझाव समेटेर विधेयक संसद्मा पेश गर्ने तयारी रहेको बताइएको छ।


