काठमाडौं। नेपाली कांग्रेसले आगाामी पाँच वर्षमा प्रतिव्यक्ति आम्दानी २५ सय डलर पुर्याउने योजना सार्वजनिक गरेको छ।
कांग्रेसले बिहीबार सार्वजनिक गरेको प्रतिज्ञापत्रमा आगामी पाँच वर्षलाई आर्थिक पुनरुत्थानको अर्धदशक घोषणा गर्दै दोस्रो पुस्ताको आर्थिक सुधारमार्फत नेपालको अर्थतन्त्रलाई ११५ खर्ब रुपैयाँ र प्रतिव्यक्ति आयलाई २५०० अमेरिकी डलर पुर्याउने सङ्कल्प गरेको हो।
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने योजना सार्वजनिक गरेका छन्। तर, कांग्रेसले ५०० कम अर्थात २५ सय डलरको मात्र परिकल्पना गरेको छ।
यो लक्ष्य पुरा गर्न कांग्रेसले कूल १३७.५० खर्ब रुपैयाँ बराबरको लगानी परिचालन गर्ने लक्ष्य लिएको छ। त्यसमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रको कायम गर्दै राज्यको भूमिकालाई केवल सहजकर्ता र निष्पक्ष नियामकमा सीमित गर्ने कांग्रेसले जनाएको छ।
२०४६ सालपछि सुरु गरेको पहिलो पुस्ताको आर्थिक सुधारले निरन्तरता पाएको भए आज नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर नाघिसक्ने दाबी कांग्रेसको छ। सशस्त्र द्वन्द्व र अस्थिरताका कारण यो अवसर गुमेको दाबी कांग्रेसको छ ।
यस्तै मुद्रास्फीति लाई पाँच प्रतिशतभित्र नियन्त्रण गर्ने र सीमान्त पूँजी उत्पादन अनुपातलाई ४.५ः१ मा कायम राख्ने प्रतिज्ञापत्रमा उल्लेख छ।
हामी नेपालको अर्थतन्त्रलाई प्रो–प्राइभेट, प्रो–ग्रोथ र प्रो–सोसल जस्टिस बनाउन कांग्रेसले तीन स्तम्भ अघि सारेको छ। जसमा उदार अर्थतन्त्र सहेको छ। यसमा निजी क्षेत्रलाई समृद्धिको मुख्य इन्जिनका रूपमा स्थापित गर्दै नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धा र प्रो–प्राइभेट वातावरण निर्माण गर्ने भएको छ।
जहाँ सरकारले बजारको प्रतिस्पर्धी, निष्पक्षता र स्वच्छताका लागि एक कुशल नियामकको भूमिका मात्र निर्वाह गर्ने उल्लेखर्ने उल्लेख छ। उत्पादनमुखी अर्थतन्त्र, रोजगारीमूलक र उत्पादनमा आधारित उच्च दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने प्रो–ग्रोथ नीति कांग्रेसले लिने भएको छ। जहाँ युवाहरू केवल श्रमिक मात्र नभई सम्पत्ति सिर्जना र उद्यमशीलताका वास्तविक साझेदार हुन्छन्।


