काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन खुला गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अंकित मूल्यमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर जारी गर्न स्वीकृति पाएको हो।
जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात ९ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ।
प्रभावित क्षेत्रअन्तर्गत ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित बासिन्दाले न्यूनतम १० देखि अधिकतम ४७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० देखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा फागुन २५ गते ढिलोमा चैत १० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गते ढिलोमा फागुन २५ सम्म खुला रहनेछ। आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ। पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ।


