काठमाडौँः पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँड गरिसकेको छ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको थियो।
त्यसैगरी, २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि तथा सोही संख्यामा सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।
अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते बन्द हुने जनाइएको छ।


