काठमाडौँ: नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई र साउदी अरेबियामा प्रयोग हुने डिजिटल वालेट एप टिक्मो बीच डिजिटल कारोबार विस्तारका लागि सम्झौता भएको छ।
माघ २७ गते साउदी अरेबियाको राजधानी रियादमा आयोजित कार्यक्रममा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मो का प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा साउदीका लागि नेपालको कार्यवाहक राजदूत सिर्जना अधिकारी, आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा दुवै संस्थाका अधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार साउदी अरेबियाबाट टिक्मो एपमार्फत पठाइने रकम आइएमईको सञ्जालमार्फत नेपालमा छिटो र सुरक्षित रूपमा उपलब्ध हुनेछ। दुवै पक्षले यस सहकार्यले दुई देशबीच डिजिटल वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सम्झौतासँगै आइएमईले ‘आइएमई गरौँ, उपहार जितौँ’ योजना पनि सार्वजनिक गरेको छ। पौष २१ देखि चैत १७ सम्म सञ्चालन हुने उक्त योजनाअन्तर्गत साउदी अरेबियामा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत रकम पठाउँदा विभिन्न उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
टिक्मो साउदी अरेबियामा लोकप्रिय डिजिटल वालेट एप हो, जसले अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, अनलाइन भुक्तानी तथा बिल भुक्तानी सेवा प्रदान गर्दै आएको छ।







