काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा बैंकिङ प्रणालीमा निक्षेप घट्न थालेको छ। नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार एकै दिनमा करिब १४ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट बाहिरिएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार फागुन १० गतेसम्म ७७ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा फागुन ११ गते घटेर ७७ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ। यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि करिब १४ अर्ब रुपैयाँ घट्दै ६९ खर्ब ८३ अर्ब रुपैयाँबाट ६९ खर्ब ७० अर्ब रुपैयाँमा सीमित भएको छ।
निक्षेप घटे पनि कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ। फागुन १० गतेसम्म बैंकिङ प्रणालीबाट करिब ५८ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट झण्डै १ अर्ब रुपैयाँले वृद्धि भएको तथ्यांकले देखाउँछ। वाणिज्य बैंकहरूको कर्जा लगानी पनि सोही अवधिमा करिब १ अर्ब रुपैयाँले बढेको छ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा अन्तरबैंक ब्याजदर २.४६ प्रतिशत र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.२९ प्रतिशत कायम रहेको छ।


