काठमाडौँ: नेपाली बजारमा बाइक भाडा सेवा प्रदान गर्दै आएको आरवाईडी नेपालले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ। कपनस्थित ढलाने ब्रिज नजिक स्थापना गरिएको वर्कसप शुक्रबार आयोजित कार्यक्रममा उद्घाटन गरिएको हो।
वर्कसपको उद्घाटन उद्घाटन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी गरेका थिए। नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्मा, सीजी मोटर्सका सीईओ कपिल सिवाकोटी लगायत अटो क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।
कम्पनीका अध्यक्ष अभिषेक खतिवडाका अनुसार सेवा सुदृढीकरणका लागि वर्कसप सञ्चालनमा ल्याइएको हो। नयाँ वर्कसपमा नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण, पार्ट्स प्रतिस्थापन लगायतका सेवा उपलब्ध हुने जनाइएको छ।
कम्पनीले सुरुवातमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकमार्फत सेवा सुरु गरेको थियो भने हाल संख्या बढाएर १०० पुर्याएको जनाएको छ। प्रतिदिन ८०० रुपैयाँ भाडादरमा बाइक उपलब्ध गराइने व्यवस्था रहेको छ।
कम्पनीका अनुसार राइडरलाई हेल्मेट, फोन होल्डर, रेनकोट र प्रारम्भिक रूपमा १५ सय रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराइनेछ। साथै डेढ वर्षभित्र आफ्नै बाइक स्वामित्वमा लिन सकिने मोडेलसमेत रहेको जनाइएको छ।
डिजिटल प्रणालीमार्फत अनलाइन बुकिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। वर्कसप सञ्चालनसँगै सवारी साधनको मर्मत तथा आकस्मिक प्राविधिक समस्या समाधान छिटो गर्न सकिने अपेक्षा गरिएको छ।


