काठमाडौँः शिखर पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँड गरेपछि आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
कम्पनीले ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गरेको छ। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित, कर्मचारी तथा म्युचुअल फन्डका लागि छुट्याइएको हिस्सा बाहेक बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल ले जनाएको छ। क्यापिटलका अनुसार अनलाइन प्रणाली ‘मेरोसेयर’ मार्फत आवेदन दिन सकिनेछ। छिटोमा फागुन २६ गते र ढिलोमा चैत १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले बागलुङ जिल्लामा ४.९६ मेगावाट क्षमताको भीमखोला साना जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको कम्पनीले जनाएको छ।


